Skip to content

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध, यातायात सेवा प्रभावित

खोटाङ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ स्थित बुवासुङ र लामीडाँडा जोड्ने लप्से (पंखु) खोलामा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो।

स्थानीय शिक्षक दिलीपचन्द्र राईका अनुसार जेठ २७ गते राति गोपिनी नायपा सामुदायिक वन क्षेत्रअन्तर्गत लामीडाँडाको ढाँडखर्कबाट ठूलो परिमाणमा लेदो माटोसहितको पहिरो झरेपछि सडक पूर्ण रूपमा बन्द भएको हो। पहिरोले सडकसँगै कुलो लगायतका संरचनामा पनि क्षति पुर्‍याएको छ।

सडक अवरुद्ध भएपछि भोजपुर–काठमाडौं आवतजावत गर्ने सवारी साधन तथा दिक्तेल, बानाचुङ र भोजपुर हुँदै पूर्वी क्षेत्रतर्फ सञ्चालन हुने यातायात सेवा प्रभावित बनेको छ। यात्रु तथा सवारी साधनहरू बाटोमै रोकिएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्षतिग्रस्त सडक खुलाउन डोजर, स्काभेटर र प्राविधिक जनशक्ति परिचालन गरिएको जनाएको छ। सडक मर्मत कार्य जारी रहे पनि पहिरोको जोखिम कायम रहेकाले आवतजावतमा सावधानी अपनाउन आग्रह गरिएको छ।

उक्त क्षेत्रमा विगतदेखि नै पहिरोको समस्या दोहोरिँदै आएको छ। यसअघि जेठ २३ गते लप्से खोलामा आएको बाढीले सडक बगाउँदा करिब नौ घण्टासम्म यातायात सेवा ठप्प भएको थियो।

स्थानीयवासीका अनुसार लप्से खोलामा २०७३ सालमै निर्माण सम्पन्न हुनुपर्ने पक्की पुल ठेकेदारको ढिलासुस्तीका कारण अझै अधुरै छ। पुल निर्माण सम्पन्न नहुँदा वर्षायाममा यात्रु, मालवाहक सवारी, एम्बुलेन्स, मोटरसाइकल तथा पैदल यात्रुहरू घण्टौँसम्म सास्ती भोग्न बाध्य हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्