Skip to content

२४ लाख ५० हजार घुसकाण्डः भक्तपुर मालपोतका तत्कालीन प्रमुख र सहयोगीलाई जनही २ वर्ष कैद

काठमाण्डौँ ।

भक्तपुर मालपोत कार्यालयका तत्कालीन प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनीहरूलाई जनही २ वर्ष कैद तथा १२ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

विशेष अदालतले एक साताअघि दोषी ठहर गरेको यस मुद्दामा बुधबार सजाय निर्धारण गर्दै दुवै जनालाई पीडित राहत कोषमा जनही ५९ हजार रुपैयाँ जम्मा गर्न पनि आदेश दिएको छ।

आचार्य र राउतले चाँगुनारायणस्थित १४ रोपनी ४ आना जग्गाको मोही लगत कट्टासम्बन्धी कामका लागि सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस रकमसहित रंगेहात पक्राउ गरेपछि २८ साउन २०८२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल तथा उमेश कोइरालाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो। यसै मुद्दामा अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा अभियोग लागेका तेजबहादुर तामाङ र सानुकान्छा तामाङलाई भने विशेष अदालतले सफाइ दिएको छ।

प्रतिक्रिया दिनुहोस्