Skip to content

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको दैनिक अन्तर्राष्ट्रिय उडान सुरु हुने

पोखरा ।

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दैनिक सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ। कम्पनीले पोखरा–दुबई–पोखरा रुटमा नियमित उडान सुरु गर्न लागेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको उडान तालिका स्वीकृत गरिसकेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निर्धारित मितिदेखि दैनिक उडान सञ्चालन हुनेछ।

उडान अनुमति प्राप्त गर्नुअघि फ्लाई दुबईको प्राविधिक टोलीले विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी विभिन्न पक्षको विस्तृत निरीक्षण गरेको थियो। निरीक्षणपछि कम्पनीले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीलाई अन्तिम रूप दिएको हो।

सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममार्फत पोखरामा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै फ्लाई दुबईको उडान स्वीकृत हुनु महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनतर्फको महत्वपूर्ण कदम बताएका छन्। उनका अनुसार यो केवल नयाँ हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहुँच विस्तार, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि वृद्धि तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर पनि हो।

दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना भएपछि मध्यपूर्व, युरोप र अफ्रिकासहित विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ।

सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण गरिएको हो। तर हालसम्म केही चार्टर उडानबाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थल मुख्यतः आन्तरिक उडानमा सीमित रहँदै आएको थियो।

यसअघि हिमालय एयरलाइन्सले सन् २०२५ मार्चमा पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि सेवा लामो समय टिक्न नसकी सोही वर्ष मार्च २३ देखि बन्द भएको थियो।

पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने लक्ष्यसहित करिब पाँच दशकअघि अघि सारिएको योजनाले पूर्वाधार निर्माणमार्फत मूर्त रूप पाए पनि नियमित अन्तर्राष्ट्रिय उडानको अभावले विमानस्थलको पूर्ण उपयोग हुन सकेको थिएन। यसले स्थानीय पर्यटन तथा व्यवसायिक क्षेत्रलाई समेत प्रभावित बनाएको थियो।

पर्यटन व्यवसायीहरूका अनुसार विमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटन क्षेत्रमा झण्डै एक खर्ब रुपैयाँ बराबरको अतिरिक्त लगानी भइसकेको छ। उनीहरूले अन्तर्राष्ट्रिय उडान विस्तारका लागि आवश्यक नीतिगत सुधार, छिमेकी मुलुकका प्रमुख सहरहरूसँग प्रत्यक्ष हवाई सम्पर्क तथा राष्ट्रिय वायुसेवा कम्पनीलाई प्रोत्साहनको माग गर्दै आएका छन्।

हाल भने विभिन्न स्वदेशी वायुसेवा कम्पनीहरूले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा लगायतका आन्तरिक गन्तव्यमा नियमित उडान सञ्चालन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्