Skip to content

बेगनासतालमा आजदेखि खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता सुरु हुँदै

काठमाण्डौं ।

पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा आजदेखि छैटौं संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता आयोजना हुँदैछ। बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा महिला तथा पुरुषतर्फ गरी २२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य बेगनासतालको पर्यटन प्रवर्द्धन गर्नुका साथै जल सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्नु हो। समितिका अध्यक्ष नवराज बाँस्तोलाले प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

पुरुषतर्फको प्रतिस्पर्धा बेगनासताल डुंगाघाटदेखि रातोटुँडा र कँडेलटुँडाको बीच भागसम्म करिब दुई किलोमिटर दूरीमा सञ्चालन हुनेछ। त्यस्तै महिलातर्फको दौड बेगनासताल डुंगाघाटदेखि पिप्लेटुँडासम्म करिब एक किलोमिटर दूरीमा आयोजना गरिनेछ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार रुपैयाँ, द्वितीय हुने टोलीले १० हजार रुपैयाँ, तृतीय हुने टोलीले पाँच हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

निर्णायक समितिका संयोजक रविराज कँडेलका अनुसार प्रत्येक टोलीमा तीन जना डुंगा चालक सहभागी रहनेछन्। आयोजकले प्रतियोगितामार्फत खेल पर्यटनको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अपेक्षा राखेको छ।

प्रतिक्रिया दिनुहोस्