काठमाण्डौं ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकका लागि संसद् सचिवालयले विधायिकी तथा आर्थिक महत्वका विभिन्न कार्यसूची तय गरेको छ। बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको विवरण सदनलाई जानकारी गराउनेछन्। साथै, कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरिएको विषयमा पनि सदनलाई अवगत गराइनेछ।
त्यसैगरी, ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट तोकिएको अवधिभित्र फिर्ता नआएको सम्बन्धमा सभामुखले सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ।
आजको बैठकको प्रमुख एजेन्डा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल रहनेछ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अर्थ विधेयक निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी गराउनुका साथै चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैगरी, आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउने उद्देश्यले विनियोजन विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक पनि सदनमा प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा समावेश छन्। बैठकको अन्त्यतिर बजेटमाथि भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा सुझावहरूमाथि अर्थमन्त्री डा। वाग्लेले संसद्मा जवाफ दिने कार्यक्रम तय गरिएको छ।
आजको बैठकलाई आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक नीतिसम्बन्धी महत्वपूर्ण निर्णयहरूको दिशातर्फ अघि बढाउने अवसरका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्