एजेन्सी ।
पाकिस्तान प्रशासित कश्मीरमा आगामी जुलाई २७ मा हुने क्षेत्रीय निर्वाचनको विरोधमा भइरहेको आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या ३० नाघेको छ। घटनामा करिब २०० जना घाइते भएका छन्। प्रदर्शनकारीहरूले पाकिस्तानी सुरक्षा बलले आन्दोलनकारीमाथि गोली चलाएको आरोप लगाएका छन्।
आइतबार राति रावलाकोटमा भएको झडपमा मात्रै कम्तीमा ११ जनाको ज्यान गएको थियो। त्यसपछि स्थानीय प्रशासनले व्यापक सुरक्षा कारबाही तथा दमन अभियान सञ्चालन गरेको बताइएको छ। मंगलबारसम्म आइपुग्दा मृतकको संख्या निरन्तर बढिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसबीच क्षेत्रीय सरकारले प्रतिबन्धित संगठन ‘जोइन्ट अवामी एक्सन कमिटी’ ९जेएएसी० का चार प्रमुख नेताविरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न निर्देशन दिएको छ। साथै उनीहरूको पक्राउका लागि एक करोड पाकिस्तानी रुपैयाँ पुरस्कार घोषणा गरिएको छ।
जेएएसीले जुलाई २७ मा हुने क्षेत्रीय विधानसभाको निर्वाचनमा ४५ मध्ये १२ सिट शरणार्थीका लागि आरक्षित गर्ने निर्णयको विरोध गर्दै क्षेत्रव्यापी बन्दको आह्वान गरेको हो। संगठनले उक्त निर्णयलाई स्थानीय जनमतमाथिको राजनीतिक हस्तक्षेप र लोकतान्त्रिक अधिकारमाथिको आक्रमणको रूपमा व्याख्या गरेको छ। आरक्षित सिटको व्यवस्थालाई लिएर क्षेत्रभर असन्तुष्टि बढ्दै गएको छ भने विरोध प्रदर्शन थप चर्किने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस्