काठमाण्डौं ।
प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सभामुख डीपी अर्यालले बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको जानकारी गराउँदै भोलिसम्मका लागि स्थगित गरेका हुन्। बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसद क्षितिज थेबे, नेपाली कांग्रेसका निश्कल राई, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ तथा राप्रपाकी सांसद खुब्शु ओलीले आ–आफ्नो पार्टीका धारणा राखेका थिए।
यसैबीच सभामुख अर्यालले विपक्षी सांसदहरूले सभाको मर्यादा उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन्। उनले बैठक सञ्चालन भइरहेका बेला सांसदहरूले आफ्नै विवेकले समय तोकेर सभा सञ्चालन गर्ने प्रयास गर्नु संसदीय मर्यादाविपरीत भएको टिप्पणी गरे।
मंगलबारको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको सम्मानमा ५ मिनेट मौनधारणको आग्रह गरेपछि विपक्षी सांसदहरू मात्रै उठेर मौनधारण गरेका थिए। त्यसपछि उत्पन्न परिस्थितिका कारण बैठकमा असहजता देखिएको थियो। सभामुख अर्यालले विपक्षी सांसदहरूको उक्त व्यवहार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन्।
विपक्षी दलहरूको विरोधका कारण संसद् चलाउने वातावरण नभएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। सभामुख अर्यालका अनुसार प्रतिनिधिसभाको अर्को बैठक भोलि (बुधबार) बस्ने गरी तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस्