Skip to content

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने तयारी

काठमाण्डौं ।

म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने लगभग पक्का भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ। यद्यपि, यसबारे औपचारिक निर्णय भने सार्वजनिक भइसकेको छैन। यस विषयमा प्रतिक्रिया दिँदै सांसद पुनले आफूलाई मन्त्री बनाउनेबारे कुनै जानकारी नआएको बताएका छन्। उनले भने, “मन्त्री बनाउने विषयमा मलाई कुनै जानकारी छैन। कसैले फोन पनि गरेको छैन।”

सरकारले यसअघि नै विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रका लागि विशेष प्राथमिकतासहित बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट भाषणमा सो क्षेत्रका लागि पूँजीगत खर्चको एक प्रतिशत बराबरको बजेट छुट्याइएको जानकारी दिएका थिए। उक्त मन्त्रालयका लागि पुनले लामो समयदेखि बजेट वृद्धि र संरचनागत सुधारको माग गर्दै आएका थिए।

यसअघि अन्तरिम सरकारमा उनी शिक्षा मन्त्रीको जिम्मेवारीमा रहेका थिए। पछिल्लो आम निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित भएका पुनलाई रास्वपाले समर्थन गरेको थियो। यद्यपि, उनी संसदमा स्वतन्त्र सांसदकै हैसियतमा रहेका छन्।

विज्ञान तथा प्रविधि क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्दै नवप्रवर्तन र अनुसन्धानको प्रवर्द्धनमा काम गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्