काठमाण्डौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पुनः गृहमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा हुने गरी तयारी गरिएको स्रोतले जनाएको छ।
गुरुङले यसअघि गत चैत १३ गते पहिलो पटक गृहमन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए। तर, सेयर लगानी र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि उनले नियुक्तिको २६ दिनमै गत वैशाख ९ गते राजीनामा दिएका थिए। उनले आफूमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिनका लागि बाटो खुला गर्न नैतिकताको आधारमा पद छोडेको बताएका थिए।
सरकारले पछि उनको विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो। छानबिन प्रतिवेदनपछि उनलाई सफाइ (क्लिन चिट) दिइएको वा राजनीतिक सहमति बनेको आधारमा उनलाई पुनः सोही मन्त्रालयको जिम्मेवारी सुम्पिन लागिएको बताइएको छ।
गोरखा–१ बाट निर्वाचित गुरुङ रास्वपाभित्र तथा युवा पुस्तामाझ सक्रिय र ऊर्जावान् नेताका रूपमा परिचित छन्।
प्रतिक्रिया दिनुहोस्