Skip to content

रसुवागढी नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरको आयात, १० अर्ब ८० करोड राजस्व संकलन

काठमाण्डौँ ।

नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढी हुँदै चालु आर्थिक वर्षको हालसम्म ४० अर्ब १० करोड रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन्। रसुवा भन्सार कार्यालयका अनुसार साउन महिनादेखि हालसम्म उक्त नाकाबाट चिनियाँ वस्तुहरूको ठूलो मात्रामा आयात भएको हो। आयातित वस्तुहरूमा तयारी पोसाक, जुत्ता–चप्पल, कपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, हाइड्रोपावरका उपकरण तथा विद्युतीय सवारीसाधन लगायतका सामग्री समावेश छन्।

ऐतिहासिक रूपमा पनि रसुवागढी नाका नेपाल र चीनको तिब्बती क्षेत्रबीचको प्रमुख व्यापारिक मार्गका रूपमा परिचित रहँदै आएको छ। लिच्छवी र मल्लकालदेखि नै यस मार्गमार्फत नुन, ऊन, जडीबुटी लगायतका वस्तुहरूको व्यापार हुँदै आएको इतिहास छ। आधुनिक सडक सञ्जाल विस्तारसँगै यो नाका अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्र बनेको छ।

सोही अवधिमा नेपालबाट करिब ९० करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। आयात–निर्यात गतिविधिबाट चालु आर्थिक वर्षमा हालसम्म १० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ।

विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियासम्बन्धी पछिल्ला प्रश्नहरूबारे कार्यालयले प्रचलित भन्सार ऐन तथा नियमावलीअनुसार पैठारीकर्ताले अग्रिम रूपमा राजस्व बुझाउने व्यवस्था रहेको स्पष्ट पारेको छ। तोकिएको प्रक्रिया अनुसार राजस्व संकलन भएकाले राज्यलाई कुनै आर्थिक हानि नभएको कार्यालयको दाबी छ।

रसुवागढी नाकाले मुलुकको राजस्व वृद्धि, व्यापार विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्