काठमाण्डौं ।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक मंगलबार बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। बैठकको सम्भावित कार्यसूचीमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ गर्ने विषय समावेश छ। बजेट छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम रहेको छ।
यसैगरी, अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, साथै चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने लगायतका कार्यसूची पनि रहेको जनाइएको छ। यद्यपि, बैठक कार्यसूचीमा प्रवेश गर्छ वा गर्दैन भन्ने विषय भने अनिश्चित रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन्। सोही कारण संसद्को नियमित कार्यवाही प्रभावित हुँदै आएको छ।
सोमबार बसेको सर्वदलीय बैठकले पनि संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाउन नसकेपछि बैठक सञ्चालन हुन सकेको थिएन।
त्यस्तै, राष्ट्रियसभाको बैठक पनि मंगलबार दिउँसाे सवाँ १ बजे बस्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्