Skip to content

बेल्जियम टी–२० लिगमा नेपाली खेलाडीको दबदबा, आज दुई खेल हुँदै

काठमाण्डौं ।

बेल्जियममा जारी पहिलो संस्करणको ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली खेलाडीहरूको प्रभाव उल्लेखनीय देखिएको छ। प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेलहरू हुँदैछन्। पहिलो खेलमा लिज रेड लायन्स र युनाइटेड ब्रसेल्सबीच अपराह्न सवा १ बजेदेखि प्रतिस्पर्धा हुनेछ। यस खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने लिज रेड लायन्सबाट बलिङ गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै दोस्रो खेलमा राति सवा ८ बजेदेखि जेबी ब्रुग्सले एन्टवर्प एन्कर्सको सामना गर्नेछ। जेबी ब्रुग्समा नेपाली खेलाडीहरूको ठूलो उपस्थिति रहेको छ, जसले टोलीलाई बलियो बनाएको छ। यस खेलमा दीपेन्द्रसिंह ऐरी, गुल्सन झा र ललितनारायण राजवंशी खेल्ने सम्भावना छ भने एन्टवर्प एन्कर्सबाट ओपनर आशिफ शेख मैदानमा उत्रनेछन्। जेबी ब्रुग्सले हालसम्म ३ मध्ये २ खेल जित्दै ४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ।

प्रतियोगितामा हालसम्म ८ जना नेपाली क्रिकेटर विभिन्न टोलीमा आबद्ध भएका छन्। जेबी ब्रुग्सबाट अलराउन्डर दीपेन्द्रसिंह ऐरीसहित स्पिनर ललितनारायण राजवंशी, तीव्र गतिका अलराउन्डर गुल्सन झा, विकेटकिपर अनिल साह र अलराउन्डर इशान पाण्डे सहभागी छन्।

यसैगरी कप्तान रोहित पौडेल गेन्ट ग्लेडिएटर्समा आबद्ध छन् भने सन्दीप लामिछाने लिज रेड लायन्सबाट खेलिरहेका छन्। ओपनर आशिफ शेख एन्टवर्प एन्कर्समा अनुबन्धित छन्।

आईसीसीबाट मान्यता प्राप्त यो लिग बेल्जियम क्रिकेट महासंघको सहकार्यमा डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले आयोजना गरेको हो। प्रतियोगितामा एन्टवर्प एन्कर्स, गेन्ट ग्लेडिएटर्स, लिज रेड लायन्स, ब्रसेल्स, जेबी ब्रुग्स र लुभेन गरी ६ टोली सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्