गोरखा ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का महामन्त्री तथा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको बताएका छन्। रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले विकास निर्माणका मुद्दामा सबै राजनीतिक दलसँग सहकार्य गर्न पार्टी तयार रहेको स्पष्ट पारे।
उनले जनताले दिएको जनादेश राजनीतिक द्वन्द्वका लागि नभई देश निर्माणका लागि भएको उल्लेख गर्दै साझा प्रयासबाट मात्र सकारात्मक परिणाम हासिल गर्न सकिने बताए।
महामन्त्री बुर्लाकोटीले गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि पहल भइरहेको जानकारी दिँदै यस विषयमा अर्थ मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए। निजी क्षेत्रको लगानीमार्फत उद्योग सञ्चालनको सम्भावना रहेको उल्लेख गर्दै उनले सरकारी, निजी वा संयुक्त मोडेल जुनसुकै भए पनि उद्योग पुनः सञ्चालन हुनुपर्ने धारणा राखे।
“गोरखकाली रबर उद्योग फेरि सञ्चालनमा आएर स्वदेशमै उत्पादन भएका टायर देशभरका सवारीसाधनमा प्रयोग भएको देख्न चाहन्छौं,” उनले भने।
उनले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिए। आगामी आर्थिक वर्षका लागि आयोजनामा बजेट विनियोजन गरिएको उल्लेख गर्दै अधिकार सम्पन्न निकाय गठन गरी निर्माण प्रक्रियालाई गति दिने तयारी भइरहेको बताए।
राजनीतिक स्थिरता र सुधारले नै अन्य क्षेत्रको विकास सम्भव हुने उल्लेख गर्दै बुर्लाकोटीले सुशासन स्थापना र प्रणाली सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।
उनले विदेशबाट आउने रेमिट्यान्स मात्र आर्थिक समृद्धिको आधार बन्न नसक्ने भन्दै देशभित्र उद्योग, व्यवसाय र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए। स्वदेशमै रोजगारी सिर्जना गरी आर्थिक गतिविधि विस्तार गर्न सरकार केन्द्रित रहेको उनको भनाइ थियो।
महामन्त्री बुर्लाकोटीले आगामी आर्थिक वर्षको बजेट विकास निर्माण, उत्पादन वृद्धि र आर्थिक समृद्धिलाई लक्ष्य गरी तयार गरिएको दाबी गर्दै यसको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्