Skip to content

सिस्नेरी पहिरोमा ६ खेलाडीको मृत्यु प्रकरणः छानबिन समिति गठन

काठमाण्डौं।

मकवानपुरको सिस्नेरीमा पहिरोका कारण ६ जना किशोर खेलाडीको मृत्यु भएको घटनाबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपसमिति गठन गरेको छ। राखेपले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको हो।

समितिमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती र शिक्षा तथा खेलकुद मन्त्रालयका एक कानुनी अधिकृत सदस्य रहेका छन्।

समितिलाई २१ दिनभित्र छानबिन पूरा गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। उपसमितिले सोमबारदेखि औपचारिक रूपमा काम सुरु गर्ने जनाइएको छ। घटना २०८१ असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको थियो।

पहिरोका कारण वडा नम्बर ३ स्थित वात्सल्यदेवी विद्यालयमा रहेको एन्फा सिस्नेरी एकेडेमीका ६ जना किशोर खेलाडीको मृत्यु भएको थियो। मृत्यु हुनेमा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जन रहेका थिए।

घटनापछि एन्फाको कमजोरीप्रति आफन्तहरूले प्रश्न उठाउँदै आएका छन्। आफन्तहरूले छानबिनको माग गर्दै खेलकुद मन्त्रालयमा निवेदन दिएपछि मन्त्रालयको निर्देशनअनुसार राखेपले उपसमिति गठन गरेको हो।

प्रतिक्रिया दिनुहोस्