Skip to content

विश्व खाद्य सुरक्षा दिवसः दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु

काठमाण्डौं।

दूषित खाद्यवस्तुको उपभोगले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको सन्दर्भमा आज विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। विश्व स्वास्थ्य संगठन ( WHO ) का अनुसार दूषित खानाका कारण हरेक वर्ष करिब ६० करोड मानिस विभिन्न खाद्यजन्य रोगबाट प्रभावित हुने गरेका छन्। ती रोगका कारण वार्षिक रूपमा करिब ४ लाख २० हजार मानिसले ज्यान गुमाउने गरेको तथ्यांकले देखाउँछ।

संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१८ मा पारित प्रस्तावअनुसार प्रत्येक वर्ष जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् २०१९ देखि यो दिवस विश्वभर नियमित रूपमा मनाइँदै आएको छ। यसको नेतृत्व तथा समन्वय WHO र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन ( FAO )ले गर्दै आएका छन्।

विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा खेतबारीदेखि भान्सासम्मको सम्पूर्ण खाद्य शृङ्खलासँग जोडिएको विषय हो। उत्पादन, भण्डारण, प्रशोधन, ढुवानी, वितरण र उपभोगका सबै चरणमा सरसफाइ र सुरक्षा मापदण्ड पालना गर्न सके खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

ध्ज्इ को प्रतिवेदनले खाद्यजन्य रोगको सबैभन्दा ठूलो असर बालबालिकामा परेको देखाएको छ। कुल भारमध्ये करिब ४० प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा देखिने र प्रत्येक वर्ष करिब १ लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ। महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा आर्थिक रूपमा कमजोर वर्ग बढी जोखिममा पर्ने गरेको पनि अध्ययनले देखाएको छ।

यस दिवसको अवसरमा खाद्य सुरक्षा केवल बजार अनुगमनमा मात्र सीमित नभई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानी, असल कृषि अभ्यास ९न्ब्ए०, वैज्ञानिक व्यवस्थापन र उपभोक्ता सचेतनासँग जोड्नुपर्नेमा जोड दिइएको छ।

सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य सुनिश्चित गर्न सकिने विज्ञहरूको निष्कर्ष छ। ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशसहित मनाइने यस दिवसले जनस्वास्थ्य, कृषि, व्यापार र दिगो विकासबीचको सम्बन्धलाई उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्