काठमाण्डौं।
अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी प्रक्रियाको प्रभावकारी प्रयोग नहुँदा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरूलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन्। फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहमा बोल्दै उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँगको छलफलपछि पार्टीको घोषणापत्रमा समेटिएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिमा सुधार गर्दै कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए।
उनले भने, “लामो समयदेखि राजनीतिक आँट र विधेयक उपयुक्त ढंगले प्रयोग गर्न नसक्दाखेरि हुन नसकेका सुधारहरूलाई हामीले अगाडि बढाउने निर्णय गरेका छौं। प्रधानमन्त्रीज्यू र सभापतिज्यूसँग छलफल गरेर पार्टीको बाचापत्रमा उल्लेख भएका दर्जनौं ऐन, नियमावली र कार्यविधिहरू सुधार गरी अघि बढ्नेछौं।”
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै देशमा सकारात्मक परिवर्तनको सन्देश दिन विभिन्न महत्वाकांक्षी कार्यक्रमहरू घोषणा गरिएको बताए। उनका अनुसार २०४८ सालपछि पहिलोपटक यति व्यापक आर्थिक सुधारका कार्यक्रम अघि सारिएको हो।
उनले भने, “निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने र देशमा केही हुँदैछ भन्ने सन्देश दिन हामीले महत्वाकांक्षी कार्यक्रमहरू घोषणा गरेका छौं। सायद २०४८ सालपछि यति ठूलो महत्वाकांक्षा राखेर आर्थिक सुधारका घोषणा पहिलोपटक भएको हो।”
पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले लामो समयदेखि अलपत्र रहेका सडक तथा अन्य पूर्वाधार आयोजनाहरू सम्पन्न गर्ने लक्ष्य सरकारको रहेको बताए। उनका अनुसार जनताको लगानी फसेका परियोजनाहरू निश्चित समयसीमाभित्र पूरा गरिनेछ।
उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा सहरी विकासअन्तर्गतका अपूरा आयोजनाहरूलाई एकदेखि तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको जानकारी दिए।
उनले भने, “लामो समयदेखि थाती रहेका र कार्यान्वयन हुन नसकेका आयोजनाहरू, जनताको रकम फसेका परियोजनाहरूलाई टुंग्याउने भनेर हामी अघि बढेका छौं। राजनीतिक श्रेयको होडबाजीभन्दा माथि उठेर यसपटक भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गर्दै ती परियोजनाहरू सम्पन्न गर्ने प्रक्रियामा छौं।”
अर्थमन्त्री वाग्लेले राजनीतिक श्रेयको प्रतिस्पर्धाभन्दा विकासलाई प्राथमिकता दिँदै सरकार अघि बढिरहेको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्