काठमाण्डौं।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। उनी कटारीबाट आफैंले चलाएको मोटरसाइकलमा बेलकातर्फ जाँदै गर्दा हिजो दुर्घटनामा परेका हुन्। पार्टी स्रोतका अनुसार साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडियो खिचिरहेका बेला सन्तुलन गुम्दा मोटरसाइकल पल्टिएको हो।
दुर्घटनापछि उनी उठेर पुनः भिडियो खिच्दै आफ्नो हातमा लागेको चोट देखाएको भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा उनको हातको छाला ताछिएको र कपडा समेत फाटेको देखिन्छ।
घटनापछि सामाजिक सञ्जालमा चर्चा बढेपछि अध्यक्ष साम्पाङले आज प्रतिक्रिया दिँदै आफू आफैं लडेको र चोट पनि सामान्य रहेको बताएका छन्। उनले सानो चोटलाई ठूलो विषय नबनाउन आग्रह गर्दै आफूले देशलाई कुनै हानि नपुर्याएको उल्लेख गरेका छन्।
यस्तै, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अध्यक्ष साम्पाङलाई सामान्य चोटपटक मात्र लागेको र उनको अवस्था स्थिर रहेको स्पष्ट पारेका छन्।
हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी सामान्य दैनिकीमा फर्किसकेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्