Skip to content

पानी कम परेसँगै काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम ४१ डिग्री पुग्यो

काठमाण्डौं ।

देशभर वर्षा हुने क्रम घटेसँगै तापक्रम उल्लेखनीय रूपमा बढ्न थालेको छ। काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबारसम्म ३७ डिग्री सेल्सियसभन्दा कम रहेको अधिकतम तापक्रम बुधबार बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको छ। बुधबार सबैभन्दा बढी तापक्रम भैरहवामा ४१ डिग्री सेल्सियस मापन गरिएको छ।

यस्तै, नेपालगञ्जमा ३९।५ डिग्री, जनकपुर र सिमरामा समान ३८।२ डिग्री, धनगढीमा ३८।१ डिग्री, चन्द्रगढीमा ३६।९ डिग्री, धरानमा ३६।५ डिग्री तथा विराटनगरमा ३६।१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।

काठमाडौं उपत्यकामा पनि केही दिनअघि घटेर २५ डिग्री सेल्सियससम्म पुगेको तापक्रम बुधबार पुनः बढेको महाशाखाले जनाएको छ। वर्षा कम भएसँगै उपत्यकासहित देशका विभिन्न भागमा गर्मीको महसुस बढेको छ।

मौसमविद्हरूका अनुसार मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा अझै केही दिन तातो मौसम कायम रहने सम्भावना छ। बुधबार काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा भए पनि त्यसले तापक्रममा उल्लेख्य कमी ल्याउन सकेको छैन।

महाशाखाले बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।

यता, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन र गर्मीको प्रभाव अझै कायम रहने मौसमविद्हरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्