Skip to content

रास्वपा सभापति लामिछाने स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने

काठमाण्डौं ।

परराष्ट्रमन्त्री शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणबाट स्वदेश फर्किएलगत्तै भारत जाने तयारीमा रहनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा दुवै देशका साझा चासो र प्राथमिकतासम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि भ्रमणको मिति भने अझै तय भइसकेको छैन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रवि लामिछानेबीच बुधबार भएको भेटवार्तामा सहभागी रास्वपा सांसद दीपक बोहोराले बीबीसी नेपालीसँगको कुराकानीमा परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको जानकारी दिनुभएको हो।

रास्वपाका अनुसार सभापति लामिछाने शुक्रबार नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा उहाँले बुधबार भारतीय प्रधानमन्त्री मोदीसँग एक घण्टाभन्दा बढी समय भेटवार्ता गर्नुभएको थियो। यसअघि मंगलबार उहाँले भारतीय विदेशमन्त्री एस। जयशंकर तथा भारतीय जनता पार्टी ९भाजपा० का अन्य नेताहरूसँग समेत छलफल गर्नुभएको थियो।

सभापति लामिछानेको स्वदेश फिर्तापछि परराष्ट्रमन्त्री खनाल दिल्ली जाने तयारीमा रहनुभएको छ। भ्रमणका क्रममा उहाँले नेपाल सरकारको प्रतिनिधित्व गर्दै भारतीय विदेशमन्त्री जयशंकरसहित अन्य उच्चस्तरीय नेताहरूसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गर्नुहुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्