काठमाण्डौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनाहरूलाई आन्दोलन वा क्रान्तिका रूपमा व्याख्या गर्न नमिल्ने भन्दै ती घटनाहरू तत्कालीन एमाले नेतृत्वको सरकार हटाउने उद्देश्यले रचिएको पूर्वनियोजित राजनीतिक षड्यन्त्र भएको बताएका छन्। राजधानीमा आयोजित पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा’ सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले उक्त घटनालाई आपराधिक गतिविधिको योजनाबद्ध श्रृंखलाका रूपमा चित्रण गरे।
उनले केही समूहले हिंसात्मक तथा आपराधिक गतिविधिलाई समेत क्रान्तिको नाम दिने प्रयास गरेको आरोप लगाउँदै निर्दोष युवाको ज्यान जाने खालका घटनालाई राजनीतिक आन्दोलनका रूपमा प्रस्तुत गर्नु गलत भएको बताए।ओलीले वास्तविक रूपमा अपराध गर्नेहरू नै पछि दोष एमालेमाथि थोपर्ने प्रयासमा लागेको टिप्पणी गरे। उनले आफ्नो दाबीलाई पुष्टि गर्न राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपलाई समेत आधारका रूपमा उल्लेख गरे। उनका अनुसार आयोगको अध्ययनले भदौ २३ र २४ का घटनाहरू योजनाबद्ध र प्रायोजित प्रकृतिका रहेको संकेत गरेको छ। उनले यो विषय आफ्नो व्यक्तिगत धारणा मात्र नभई अध्ययन तथा प्रतिवेदनबाट समेत पुष्टि भएको दाबी गरे।
अध्यक्ष ओलीले त्यसबेला एमाले नेतृत्वको सरकार जनमत, संविधान र लोकतान्त्रिक प्रक्रियाका आधारमा बलियो अवस्थामा रहेको स्मरण गराउँदै संवैधानिक र संसदीय माध्यमबाट सरकार हटाउने प्रयास सफल हुन नसकेपछि गैरसंवैधानिक र अवैधानिक उपाय अपनाइएको आरोप लगाए।उनले विभिन्न राजनीतिक शक्ति र समूहले सरकारलाई कमजोर बनाउन अनेक प्रयास गरे पनि सफलता नपाएपछि अन्ततः षड्यन्त्रपूर्ण गतिविधिमार्फत सरकार विस्थापित गर्ने प्रयास भएको बताए।
कार्यशालामा ओलीले एमालेविरुद्ध विभिन्न कोणबाट राजनीतिक आक्रमण भइरहेको दाबी गर्दै पार्टी पंक्तिलाई वैचारिक रूपमा स्पष्ट, संगठित र एकताबद्ध रहन आग्रह गरे। निर्वाचनपछिको राजनीतिक अवस्था, सीमा विवाद, समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको आगामी रणनीतिबारे समेत धारणा राख्दै उनले कार्यकर्ताहरूलाई संगठन सुदृढीकरणमा सक्रिय हुन निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस्