Skip to content

निर्वाचनमा पराजय, पक्राउ र शल्यक्रियापछि पहिलो पटक सार्वजनिक मञ्चमा ओली

काठमाण्डौं।

नेकपा ( एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। पार्टीको केन्द्रीय सङ्गठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालामा उपस्थित हुँदै ओली सार्वजनिक रूपमा देखिएका हुन्।

निर्वाचनमा पराजित भएपछि ओली सार्वजनिक कार्यक्रमहरूबाट टाढा रहेका थिए। यसबीच नयाँ सरकार गठन भएको भोलिपल्ट उनी पक्राउ परेका थिए भने रिहाइपछि पत्थरीको शल्यक्रिया गराएर निवासमै आराम गरिरहेका थिए। यद्यपि, सार्वजनिक कार्यक्रममा अनुपस्थित रहे पनि उनी पार्टीका आन्तरिक बैठक तथा नेताहरूसँगको छलफलमा सक्रिय रहेको बताइएको छ।

आज आयोजित राष्ट्रिय कार्यशालामा ओलीसँगै एमालेका शीर्ष नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिपछि राजनीतिक माहोल तातेको बेला ओलीको सार्वजनिक उपस्थितिलाई विशेष महत्वका साथ हेरिएको छ।

कार्यक्रमस्थलमा नेपालको ‘चुच्चे नक्सा’ समेत राखिएकाले राष्ट्रियता र सीमा सम्बन्धी विषयमा ओलीले व्यक्त गर्ने धारणाप्रति राजनीतिक वृत्तको चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्