काठमाण्डौं।
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध देशभरका निजी अस्पतालहरूलाई आकस्मिक अवस्था भएका बिरामीलाई मात्र बिमा सुविधाअन्तर्गत उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा। पवनकुमार साहका अनुसार तत्काल उपचार आवश्यक पर्ने वास्तविक आकस्मिक अवस्थाका बिरामीलाई मात्र बिमाअन्तर्गत सेवा प्रदान गर्न निजी स्वास्थ्य संस्थाहरूलाई सचेत गराइएको छ।
यसअघि बोर्डले जेठ १६ गते सूचना जारी गर्दै वित्तीय स्रोतको अभावका कारण अर्को निर्णय नभएसम्म निजी अस्पतालहरूबाट प्रदान गरिने आकस्मिकबाहेकका सबै नियमित स्वास्थ्य सेवामा बिमा सुविधा स्थगित गर्ने निर्णय गरेको थियो।
बोर्डले बिमा कोषमा थप आर्थिक भार पर्न सक्ने भन्दै सामान्य स्वास्थ्य समस्यालाई आकस्मिक सेवाको रूपमा प्रस्तुत गरी उपचार सेवा नदिन निजी अस्पतालहरूलाई निर्देशन दिएको छ। साथै, उक्त व्यवस्थाको कडाइका साथ पालना गर्न पनि आग्रह गरिएको छ।
सेवाग्राही नागरिकहरूलाई पनि स्वास्थ्य सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन बोर्डले अपिल गरेको छ। सामान्य अवस्थालाई समेत आकस्मिक भन्दै उपचारका लागि दबाब दिने प्रवृत्ति देखिएकाले त्यस्तो कार्य नगर्न बोर्डले ध्यानाकर्षण गराएको हो।
हाल स्वास्थ्य बिमा बोर्डसँग आबद्ध ३६ निजी अस्पतालहरूले बिमित नागरिकलाई सेवा दिँदै आएका छन्। तर, नयाँ व्यवस्था लागू नभएसम्म ती अस्पतालहरूमा स्वास्थ्य बिमाअन्तर्गत आकस्मिक उपचार सेवा मात्र उपलब्ध हुने बोर्डले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्