Skip to content

नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्षः अझै नखुलेको रहस्य

काठमाण्डौं ।

नेपालको इतिहासकै सबैभन्दा दर्दनाक र रहस्यमय घटनामध्ये एक मानिने नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ। विसं २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा आयोजित पारिवारिक भोजका क्रममा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहसहित राजपरिवारका अधिकांश सदस्यको गोलीकाण्डमा मृत्यु भएको थियो। घटनामा रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, साथै अन्य सदस्यहरू समेत मारिएका थिए।

घटनापछि गम्भीर घाइते अवस्थामा फेला परेका तत्कालीन युवराज दीपेन्द्र शाहलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। तर उनी उपचाररत अवस्थामा रहेकाले राज्य सञ्चालनका लागि अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राजप्रतिनिधि बनाइएको थियो। दीपेन्द्रको जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्र शाहलाई नेपालको नयाँ राजा घोषणा गरिएको थियो।

घटनाको सत्यतथ्य पत्ता लगाउन तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले नै परिवारका सदस्यहरूको हत्या गरी आत्महत्या गरेको निष्कर्ष निकालिएको थियो।

तर, उक्त प्रतिवेदन र निष्कर्षलाई लिएर आज २५ वर्ष बितिसक्दा पनि नेपाली समाजमा प्रश्न र शंका कायम छन्। राजा वीरेन्द्रको शालीन र लोकप्रिय छविका कारण यो घटना अझै पनि देशको सबैभन्दा संवेदनशील र विवादित ऐतिहासिक घटनाका रूपमा स्मरण गरिन्छ।

प्रतिक्रिया दिनुहोस्