Skip to content

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘राष्ट्रघाती’ ः हर्क साम्पाङको आरोप

काठमाण्डौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको संसदमा गरिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती’ भएको आरोप लगाएका छन्। अध्यक्ष साम्पाङले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त भनाइप्रति पार्टीको गम्भीर असहमति रहेको बताएका छन्।

विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक उद्देश्यबाट प्रेरित हुन सक्ने आशंका व्यक्त गरिएको छ।

साम्पाङले उक्त भनाइले नेपाल–भारत सीमा विवादका विषयलाई कमजोर बनाउने, विशेषगरी लिपुलेक र लिम्पियाधुरा सम्बन्धी नेपाली जनताको दाबीलाई ओझेलमा पार्ने जोखिम रहेको दाबी गरेका छन्।

श्रम संस्कृति पार्टीले सरकार र प्रधानमन्त्री राष्ट्रिय सीमा, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको संरक्षणप्रति पर्याप्त रूपमा प्रतिबद्ध नरहेको आरोपसमेत लगाएको छ। साथै, नेपाली सेनाको भूमिका र सीमासम्बन्धी सरकारी नीतिप्रति पनि विज्ञप्तिमार्फत प्रश्न उठाइएको छ।

पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको धारणा र अवस्थाबारे अन्योल सिर्जना गर्न सक्ने भन्दै त्यसप्रति पुनर्विचार गर्न आग्रह गरेको छ।

यद्यपि, यस विषयमा प्रधानमन्त्री वा सरकारको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस्