Skip to content

आज पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा आंशिक बदली

काठमाण्डौं ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदलीको अवस्था रहने सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षासँगै हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराईका एक(दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यद्यपि, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना भने कायम रहने मौसमविद्ले बताएका छन्।

महाशाखाले वर्षा, चट्याङ तथा हिमपात हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्