Skip to content

विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आज, नेपालमा वार्षिक ३९ हजारको मृत्यु

काठमाण्डौँ ।

विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आज नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु तथा यसको नियन्त्रणका लागि आवश्यक कदमबारे जानकारी गराउनु हो।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष करिब ३९ हजार जनाले ज्यान गुमाउने गरेका छन्। विश्वभर भने १ अर्ब ३० करोडभन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन् भने यसको कारण वार्षिक ८० लाखभन्दा बढीको मृत्यु हुने गरेको छ।

यस वर्ष डब्ल्यूएचओले विशेषगरी नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन सरकारहरूलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। पछिल्लो समय किशोर तथा युवामाझ विद्युतीय चुरोट ९ई–सिगरेट०, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनको प्रयोग बढ्दै गएको डब्ल्यूएचओले जनाएको छ।

संस्थाका अनुसार स्वादयुक्त ई–सिगरेट र निकोटिनयुक्त उत्पादनहरूलाई आकर्षक रूपमा बजारमा प्रस्तुत गरी किशोर तथा युवालाई अम्मली बनाउने प्रयास भइरहेको छ। निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी बालबालिका तथा किशोरहरूको मस्तिष्क विकासमा गम्भीर असर पार्न सक्ने चेतावनी डब्ल्यूएचओले दिएको छ।

डब्ल्यूएचओले स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रवर्द्धन नियन्त्रण गर्न, सार्वजनिक स्थललाई पूर्ण रूपमा धूमपान तथा भेप(मुक्त क्षेत्र घोषणा गर्न र सम्बन्धित कानुनको कडाइका साथ कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्