एजेन्सी ।
दिल्लीको वेलकम क्षेत्रमा रहेको चारतले आवासीय भवन भत्किँदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने एक वर्षीय बालकसहित ८ जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भवनमा १० सदस्यीय परिवार बस्दै आएको थियो।
आइतबार बिहान करिब ७ बजे सीलमपुरस्थित ईदगाह रोड नजिक जनता कोलोनीको गल्ली नम्बर ५ मा भवन अचानक भत्किएको हो। घटना भएको समयमा स्थानीय बासिन्दा बिहानको पैदल यात्रामा निस्किएका थिए। उनीहरूले नै सबैभन्दा पहिले उद्धार कार्य सुरु गरेका थिए। दमकल तथा अन्य सुरक्षा निकाय घटनास्थलमा पुग्नुअघि नै स्थानीयले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई बाहिर निकाल्ने प्रयास गरेका थिए।
हाल पनि उद्धार कार्य जारी रहेको जनाइएको छ। उत्तर–पूर्वी दिल्लीका अतिरिक्त डीसीपी सन्दीप लाम्बाका अनुसार प्रहरी, एनडीआरएफ, सिभिल डिफेन्सका टोली तथा स्थानीय बासिन्दा उद्धार अभियानमा खटिएका छन्। अधिकारीहरूले उद्धार कार्यमा स्थानीय समुदायको महत्वपूर्ण सहयोग रहेको बताएका छन्।
यसअघि तीन महिनाअघि दिल्लीको मुस्तफाबाद क्षेत्रमा अर्को भवन भत्किँदा ११ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्