Skip to content

नेपाली कागजको खाममा बजेट—अर्थमन्त्री वाग्लेको नयाँ प्रतीकात्मक अभ्यास

काठमाण्डौं ।

आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुतिका क्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस पटक फरक शैली अपनाएका छन्। वर्षौंदेखि चल्दै आएको परम्परागत छालाको ब्रिफकेस वा झोलाको सट्टा उनले यस पटक नेपाली रैथाने उत्पादनलाई प्राथमिकता दिएका छन्।

मन्त्रिपरिषद्बाट बजेट स्वीकृत गराएर अर्थ मन्त्रालयबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गर्दा मन्त्री वाग्लेको हातमा बजेट पुस्तिका राखिएको नेपाली कागजको आकर्षक खाम देखिएको थियो। उक्त खामलाई रिबनले सजाइएको थियो।

यसअघि अर्थमन्त्रीहरूले बजेट पुस्तिका प्रायः कालो वा खैरो रङको छालाको झोलामा बोकेर संसद् तथा सिंहदरबार पुग्ने परम्परा रहँदै आएको थियो। तर पछिल्ला वर्षहरूमा बजेटमार्फत स्वदेशी उत्पादन र राष्ट्रिय पहिचान प्रवर्द्धन गर्ने संकेतस्वरूप यस्ता प्रतीकात्मक अभ्यासहरू देखिन थालेका छन्।

यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि नेपालमै उत्पादित अल्लोको झोलामा बजेट पुस्तिका बोकेर संसद् पुगेका थिए। यस पटक अर्थमन्त्री वाग्लेले नेपाली कागजको खाम रोज्दै स्वदेशी उत्पादन प्रयोगलाई प्रोत्साहन गर्ने सन्देश दिएका छन्।

मन्त्रिपरिषद्बाट स्वीकृत बजेट केही बेरमै संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत हुने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्