सरकारले योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्यो
काठमाण्डौं ।
सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ। परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै राजदूत नियुक्तिलाई थप पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने प्रयास थालेको हो।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार इच्छुक उम्मेदवारले यही जेठ २२ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदनका लागि कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुका साथै मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिहरू आवेदनका लागि अयोग्य ठहरिनेछन्। विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति लिएका तथा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत आवेदन दिन नपाइने मापदण्ड तय गरिएको छ।
परराष्ट्र मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यताका रूपमा राखेको छ।
भारत, चीन, अमेरिका र बेलायतसहित करिब डेढ दर्जन मुलुकमा रिक्त रहेका नेपाली राजदूत पदपूर्तिका लागि सरकारले खुला आवेदन प्रक्रिया अघि बढाएको हो।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार तथा हाल प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्ववर्ती केपी शर्मा ओली सरकारद्वारा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएपछि १७ वटा कूटनीतिक नियोगमा राजदूत पद रिक्त रहेको छ।
प्रतिक्रिया दिनुहोस्