पोखरा ।
पृथ्वीचोक स्थित बसपार्क अगाडिको संस्थान क्षेत्रभित्र सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा तथा संरचना हटाउने काम बिहीबारदेखि सुरु गरिएको छ। उपत्यका नगर विकास समितिले महानगरपालिकासँग समन्वय गरेर संरचना हटाउने अभियान अघि बढाएको हो।
राजनीतिक दलनिकट ट्रेड युनियन, विभिन्न संघसंस्था, सहारा क्लब, हिमाली सांस्कृतिक परिवार तथा सामुदायिक प्रहरी सेवाले प्रयोग गर्दै आएका संरचना खाली गराएर भत्काउन थालिएको बताइएको छ। यसअघि अमरसिंह चौर र फिर्के खोला क्षेत्रमा पनि सहमतिमै अतिक्रमित संरचना हटाउने अभियान सञ्चालन गरिएको थियो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य को नेतृत्वमा जेठ ५ गते अमरसिंह चौर क्षेत्रमा बनेका ५१ वटा संरचना हटाइएको थियो भने जेठ १० गतेदेखि फिर्के खोलामा डोजर अभियान जारी छ। त्यहाँ हालसम्म १६० भन्दा बढी स्थायी तथा अस्थायी संरचना हटाउने काम भइरहेको छ।
महानगरले पृथ्वीचोक क्षेत्रका संरचना हटाउनुअघि पटक–पटक सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेको जनाएको छ। उपत्यका नगर विकास समितिले ३५ दिने सूचना जारी गर्दै सम्बन्धित संस्था तथा मजदुर संगठनलाई संरचना आफैं हटाउन आग्रह गरेको थियो। निर्धारित समय सकिएपछि महानगरपालिका र नगर विकास समिति संयुक्त रूपमा मैदानमा उत्रिएका हुन्।
मेयर आचार्यले आगामी चरणमा बसपार्क क्षेत्र पूर्ण रूपमा खाली गराउने तयारी भइरहेको बताएका छन्। त्यसका लागि छानबिन समिति, भूमिहीन तथा सुकुमवासी व्यवस्थापन समिति र जग्गा पहिचान समिति गठन गरेर योजनाबद्ध रूपमा काम अघि बढाइएको उनको भनाइ छ।
शान्ति प्रक्रियापछि केही समय वाईसीएल क्याम्पका रूपमा प्रयोग भएको बसपार्क क्षेत्रको सरकारी जग्गा पछि विभिन्न राजनीतिक दलनिकट मजदुर संगठनको नियन्त्रणमा पुगेको थियो। समयसँगै अस्थायी टहराबाट स्थायी संरचना निर्माण गरी सटर भाडामा लगाउने कार्यसमेत भएको बताइन्छ।
हाल अधिकांश व्यवसायी तथा संघसंस्थाले स्थान खाली गरिसकेका छन्। हङकङ बजार अगाडिका धेरै सटर बन्द भइसकेका छन् भने विभिन्न संस्थाले कार्यालयसमेत अन्यत्र सारेका छन्।
पृथ्वीचोक र बसपार्क आसपासको सार्वजनिक जग्गा वर्षौंदेखि राजनीतिक पहुँच र विभिन्न निर्णयमार्फत प्रयोग हुँदै आएको विषय विवादित रहँदै आएको छ। सुरुमा अस्थायी प्रयोगका लागि दिइएको स्थानमा पछि स्थायी संरचना निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग गरिएको आरोप लाग्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्