काठमाण्डौं ।
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद ( इदुल जोहा ) आज देशभरका मस्जिद र इदगाहमा सामूहिक नमाज अदा गर्दै मनाइँदै छ। पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।
धार्मिक परम्पराअनुसार रमजान पर्वपछि करिब ७०औँ दिनमा मनाइने बकर इदमा मुस्लिम समुदाय बिहानै स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर विशेष नमाज पढ्ने गर्दछन्। नमाजपछि एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ। काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदहरूमा आज बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
इस्लाम धर्मअनुसार हिजरी संवत्को इतिहासमा अल्लाहको आदेश पालनाका लागि इब्राहिम आफ्ना छोरा इस्माइल लाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ। धार्मिक विश्वासअनुसार अल्लाह प्रसन्न भएपछि मानवको सट्टा जन्नतबाट आएको दुम्बाको कुर्बानी भएको थियो। त्यसैको सम्झनामा अहिले पनि कुर्बानी दिने परम्परा कायम छ।
मुस्लिम धर्मगुरुहरूका अनुसार मोहम्मद सलल्लाहु अलैहि वसल्लम ले इस्लाम धर्मको प्रचार–प्रसार र धार्मिक शिक्षालाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान दिएका थिए। उहाँसँग सम्बन्धित धार्मिक शिक्षाहरू मदरसाहरूमा अध्ययन–अध्यापन गराइन्छ।
बकर इदको अवसरमा मुस्लिम समुदायले धर्मले स्वीकार गरेका जनावरको कुर्बानी दिने प्रचलन छ। कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने धार्मिक मान्यता रहेको छ — एक भाग गरिब तथा विपन्नलाई, अर्को भाग आफन्त र इष्टमित्रलाई तथा तेस्रो भाग आफ्नै परिवारका लागि राखिन्छ।
यो पर्व तीन दिनसम्म मनाइने जनाइएको छ। धार्मिक परम्पराअनुसार पर्वका तीनै दिन कुर्बानी गर्न सकिने व्यवस्था रहेको मुस्लिम समुदायले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्