Skip to content

रुसद्वारा इबोलाको नयाँ स्ट्रेनविरुद्ध खोप विकासको दाबी

काठमाण्डौं ।

अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले भाइरसको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ।
दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल अफ्रिकामा देखिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत उच्च सुरक्षा दिन सक्ने प्रारम्भिक संकेत देखाएको छ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै दूतावासले वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप लक्षित खोप विकासमा सफलता पाएको जानकारी दिएको हो। विशेषगरी कङ्गो लोकतान्त्रिक गणतन्त्रमा देखिएको प्रकोपसँग सम्बन्धित यो स्ट्रेनविरुद्ध खोप उपयोगी हुन सक्ने दाबी गरिएको छ।

यता अफ्रिकामा फैलिरहेको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले मे १७ मा ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरिसकेको छ। अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र ( अफ्रिका सीडीसी ं ले पनि कङ्गो र युगान्डामा फैलिएको प्रकोप पुष्टि गरेको छ।

डब्लुएचओको आपतकालीन समितिले यात्रु निगरानी कडाइ, प्रभावित क्षेत्रमा अनावश्यक यात्रा रोकथाम र सीमा नाकामा स्वास्थ्य जाँच प्रणाली मजबुत बनाउन सुझाव दिएको छ।

इबोला अत्यन्त घातक भाइरल रक्तस्रावी ज्वरो हो, जसको बुन्डिबुग्यो स्ट्रेन हाल विशेष चिन्ताको विषय बनेको छ। यद्यपि, यस स्ट्रेनविरुद्ध कुनै पनि खोप वा औपचारिक उपचार विश्वव्यापी रूपमा स्वीकृत भइसकेको छैन।

यसैबीच रुसको खोप दाबीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य समुदायले चासोका साथ हेरिरहेको छ, तर यसको प्रभावकारिता र आधिकारिक मान्यताबारे थप प्रमाण आवश्यक रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्