Skip to content

पोखराको नाइट क्लबमा ‘सानुभाइ’ समूहको कुटपिट, प्रहरी खोजीमा सक्रिय

पोखरा ।

पर्यटकीय क्षेत्र लेकसाइडस्थित एक नाइट क्लबमा कुटपिट र आतंक मच्चाएको आरोपमा गुण्डागर्दी पृष्ठभूमिका युवराज गुरुङ ‘सानुभाइ’ र उनको समूहको खोजीमा प्रहरी जुटेको छ।

कास्की प्रहरीका अनुसार आइतबार राति ‘क्लब १६’मा सामान्य विवादका क्रममा सानुभाइ समूहले अर्को समूहका युवाहरूमाथि कुटपिट गरेको आरोप छ। घटनामा एक युवा गम्भीर घाइते भएका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार क्लबभित्र सामान्य ठोक्किएको विषयलाई लिएर विवाद सुरु भएको र त्यसपछि सानुभाइ समूहले आक्रामक रूपमा कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ। घटनापछि उनीहरू फरार भएका छन्।

सोमबार पीडित पक्षले उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान तीव्र पारेको हो। प्रहरीका अनुसार सीसीटीभी फुटेज संकलन गरी फरार समूहको पहिचान र खोजी भइरहेको छ।

नुवाकोट ककनी–५ घर भएका ३६ वर्षीय सानुभाइ लामो समयदेखि गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक–पटक पक्राउ परिसकेका व्यक्ति हुन्। उनी ठमेल क्षेत्रलाई आधार बनाएर आपराधिक समूह सञ्चालन गर्ने व्यक्तिका रूपमा समेत चिनिँदै आएका छन्।

प्रहरी अभिलेखअनुसार उनी यसअघि विभिन्न कुटपिट, धम्की र आक्रमणका मुद्दामा संलग्न रहेको र पछिल्लो पटक गत साउनमा समेत पक्राउ परेका थिए। उनी नुवाकोटका दिवंगत गुन्डा नाइके कुमार घैँटेसँग नजिक सम्बन्ध रहेको बताइन्छ।

हाल कास्की प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गर्ने काम भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्