काठमाण्डौं ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदरको माग गर्दै दायर गरेको रिटमाथि आज सर्वोच्च अदालमा सुनुवाइ हुँदैछ। सर्वोच्चले उक्त रिटलाई न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकेको छ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। त्यसक्रममा अदालतले पक्राउ पुर्जी कार्यान्वयन रोक्ने अन्तरिम आदेश दिने वा नदिने विषयमा थप बहस आवश्यक रहेको भन्दै दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो। सोही आदेशअनुसार आज संयुक्त इजलासमा विस्तृत सुनुवाइ हुन लागेको हो।
शेरबहादुर देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति जारी गरेको थियो। त्यसविरुद्ध सर्वोच्च पुगेका देउवाले आफ्नो रिटमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हेर्ने अधिकार जिल्ला अदालतलाई नभई विशेष अदालतलाई मात्रै रहेको जिकिर गरेका छन्।
रिटमा क्षेत्राधिकारभन्दा बाहिर गएर जारी गरिएको पक्राउ अनुमति कानुनविपरीत भएको दाबी गरिएको छ। आजको सुनुवाइलाई राजनीतिक र कानुनी दुवै वृत्तमा चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्