Skip to content

फिर्केखोला अतिक्रमण हटाउन दोस्रो दिन पनि डोजर अभियान जारी

पोखरा ।

पोखरा महानगरपालिकाले फिर्केखोलाको अतिक्रमित क्षेत्र खाली गराउने अभियानअन्तर्गत दोस्रो दिन पनि डोजर चलाएको छ। सोमबार बिहान १० बजेदेखि तीन स्थानबाट अवैध संरचना हटाउने काम पुनः सुरु गरिएको हो।

महानगरले पोखरा–७ र ८ को जिरो किमी, पोखरा–४ र ५ को बुढानीलकण्ठ मन्दिर क्षेत्र तथा वडा नम्बर १८ र २ को अधेरीकुना क्षेत्रमा एकैसाथ डोजर परिचालन गरेको छ। पोखराको सभ्यता र पहिचानसँग जोडिएको फिर्केखोलालाई प्राकृतिक स्वरूपमा फर्काउने उद्देश्यसहित अभियान अघि बढाइएको हो।

विसं २०८० को नापजाँच प्रतिवेदनअनुसार खोलाको किनार मिचेर १६० वटा संरचना निर्माण भएको पाइएको छ। तीमध्ये ३५ वटा स्थायी घर, ९७ वटा अस्थायी संरचना तथा विभिन्न संघसंस्थाका १८ स्थायी र १० अस्थायी भवन रहेको महानगरको तथ्यांक छ। कतिपय संरचनाका पिलरसमेत खोलाभित्र गाडिएको पाइएको छ।

महानगरले १० मिटरको मापदण्ड तोके पनि हाल व्यवहारिक अवस्थालाई ध्यानमा राख्दै ६ मिटर कायम गरी संरचना हटाउने काम भइरहेको जनाएको छ। यसअघि ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिएपछि अभियान सुरु गरिएको हो।

पहिलो दिन आइतबार जिरो किमी क्षेत्रबाट तीन वटा डोजर प्रयोग गरी १४ वटा संरचना हटाइएको थियो। नगर प्रहरी प्रमुखका अनुसार सूचना जारी भएपछि केहीले आफ्नै सामान हटाएकाले काम सहज भएको छ।

नगर प्रमुख धनराज आचार्यले फिर्केखोलालाई प्राकृतिक स्वरूपमै फर्काएर दीर्घकालीन जोखिम कम गर्ने उद्देश्य रहेको बताएका छन्। उनले खोलाको संरक्षण भविष्यको सुरक्षा र सहरी विकास दुवैसँग जोडिएको उल्लेख गरेका छन्।

महानगरले यस अभियानपछि फिर्केखोलालाई ‘फिर्के कोरिडोर’का रूपमा विकास गर्ने योजना बनाएको छ, जसअन्तर्गत साइकल ट्र्याक, फुटपाथ, हरियाली र पर्यटन पूर्वाधार निर्माण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्