Skip to content

रास्वपाभित्र असन्तुष्टि बढ्दो, सांसदलाई ‘सय दिन’ सार्वजनिक टिप्पणी नगर्न रविको निर्देशन

काठमाण्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) भित्र नीतिगत विषय, मधेशका मुद्दा तथा नेतृत्व शैलीलाई लिएर आन्तरिक मतभेद सतहमा देखिन थालेको छ। पार्टी सभापति रवि लामिछाने ले सांसदहरूलाई सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन निर्देशन दिएका बेला पार्टीभित्रै असन्तुष्टि बढेको चर्चा छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोशी र मधेश प्रदेशका सांसदहरूसँग भएको लामो छलफलमा लामिछानेले सरकारको कामकारबाहीबारे कम्तीमा सय दिनसम्म सार्वजनिक टिप्पणी नगर्न आग्रह गरेका बताइएको छ। उनले सञ्चारमाध्यममा आउने असंगत अभिव्यक्तिले पार्टीको छवि प्रभावित भइरहेको भन्दै सांसदहरूलाई सावधानी अपनाउन निर्देशन दिएका हुन्।

यद्यपि, मधेश प्रदेशका केही सांसद र नेताहरू भने पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्ट देखिएका छन्। रास्वपाका प्रवक्ता मनिष झा संसदीय समिति सभापति र मन्त्री पदबाट बाहिरिएपछि नेतृत्वसँग असहमति बढेको चर्चा भइरहेको छ।

झाले मधेशका जनसरोकारका विषयमा पार्टीले प्रभावकारी ढंगले आवाज उठाउन नसकेको भन्दै नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ। विशेषगरी भारतसँगको सीमा क्षेत्रमा मधेशी समुदायले भोगिरहेको समस्याबारे पार्टी स्पष्ट रूपमा उभिनुपर्ने माग पार्टीभित्र उठिरहेको बताइएको छ।

यसै सन्दर्भमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह ले उठाउँदै आएको सीमा नाकासम्बन्धी विषयलाई समर्थन गर्ने आवाज रास्वपाभित्रै सुनिन थालेको बताइएको छ। मधेशका नेताहरूले सीमा क्षेत्रमा स्थानीय समुदायले भोग्नुपरेका कठिनाइलाई संसद्मा जोडदार रूपमा उठाउनुपर्ने धारणा राखेका छन्।

यता कास्की जिल्ला अदालतबाट हालै आएको आदेशलाई लिएर पनि पार्टीभित्र फरक–फरक धारणा देखिएको बताइन्छ। रवि पक्षले त्यसलाई राजनीतिक रूपमा सकारात्मक संकेतका रूपमा लिएको छ भने अन्य समूहहरूले त्यसलाई फरक दृष्टिकोणबाट हेरेका छन्।

यसैबीच, सभापति लामिछानेको प्रस्तावित भारत भ्रमणलाई पनि पार्टीभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ। राजनीतिक विश्लेषकहरूले उक्त भ्रमणले राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सिर्जना गर्न सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्