काठमाण्डौँ ।
शिक्षामन्त्री सस्मित पोखरेल ले सरकार चुनावी वाचापत्रअनुसार योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन्। आइतबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले सरकारले पहिलो महिना, सय दिन र एक वर्षभित्र गर्ने प्रतिबद्धताअनुसार काम गर्दै गएको दाबी गरे।
मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा स्रोत–साधन वितरण पहुँचका आधारमा हुने प्रवृत्ति अन्त्य गर्न देशभरका करिब २७ हजार विद्यालयको विस्तृत अध्ययन सुरु गरिने जानकारी दिए। उनका अनुसार विद्यालयको भौतिक अवस्था, कक्षाकोठा, फर्निचर, खेलमैदान, शौचालयलगायत पूर्वाधारको विवरण संकलन गरी दीर्घकालीन मास्टर प्लान तयार पारिनेछ।
उनले विश्वविद्यालय क्षेत्रमा बढ्दो राजनीतिक प्रभाव कम गर्दै प्राज्ञिक प्रणाली सुदृढ बनाउन खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको बताए। आठ वटा विश्वविद्यालयका लागि खुला आवेदन आह्वान गर्दा २ सय १८ जनाको आवेदन परेको उल्लेख गर्दै उनले यसलाई सरकारप्रतिको विश्वासको संकेतको रूपमा व्याख्या गरे।
कार्यक्रममा मन्त्री पोखरेलले निजी विद्यालयको शुल्क व्यवस्थापन, दरबन्दी मिलान, सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षा, स्थानीय पाठ्यक्रम, सार्वजनिक यातायात तथा विदेशी विश्वविद्यालयसँग सम्बन्धित कलेज नियमनका विषयमा उठेका गुनासा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस अवसरमा प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा। ओजस्वी शेरचन ले विद्यालय सुधारका लागि नीतिगत परिवर्तन आवश्यक रहेको बताइन्। उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न विज्ञहरूसँग छलफल गरी आवश्यक विधेयक ल्याउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा स्थानीयवासी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शिक्षा, खेलकुद र स्थानीय विकाससँग सम्बन्धित सुझाव तथा जिज्ञासा राखेका थिए।
प्रतिक्रिया दिनुहोस्