Skip to content

फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको अभियान सुरु, तीन स्थानबाट डोजर परिचालन

पोखरा ।

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउने अभियान औपचारिक रूपमा सुरु गरेको छ। लामो समयदेखि विवाद र बहसको विषय बनेको फिर्केखोला क्षेत्रमा करिडोर निर्माण गर्ने उद्देश्यसहित आइतबार बिहानदेखि तीन स्थानबाट एकसाथ डोजर परिचालन गरिएको हो। महानगर प्रमुख धनराज आचार्य तथा सम्बन्धित वडाध्यक्षहरूको उपस्थितिमा बिहान १० बजेदेखि संरचना हटाउने काम सुरु भएको जनाइएको छ।

पहिलो चरणमा जिरो किलोमिटरदेखि सिर्जना चोकसम्म फिर्केखोलामाथि बनेका संरचनामा डोजर चलाइएको छ। उक्त क्षेत्रबाट सुरु भएको अभियान वडा नम्बर ६ तर्फ अघि बढाइने महानगरले जनाएको छ।

त्यसैगरी अर्को टोलीले वडा नम्बर २ र १८ को सिमाना पर्ने अँधेरी कुनाबाट संरचना हटाउन थालेको छ भने तेस्रो टोलीले वडा नम्बर ४ र ५ को सीमास्थित फिर्केपुल–बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट अभियान अघि बढाएको छ। २०८० असारमा गरिएको नापजाँच प्रतिवेदनअनुसार फिर्केखोलाको खोलाघरभित्र १६० वटा संरचना परेको उल्लेख छ। तीमध्ये सरकारी कार्यालय, समाजघर, प्रदेश प्रहरी कार्यालयदेखि निजी घरसमेत समावेश छन्।

महानगरपालिकाले यसअघि जेठ ३ गते सूचना जारी गर्दै जेठ ९ भित्र स्थायी तथा अस्थायी संरचना आफैं हटाउन आग्रह गरेको थियो। तोकिएको समयसीमा सकिएपछि महानगरले डोजर प्रयोग गरेर हटाउने प्रक्रिया अघि बढाएको हो। डोजर चल्ने सूचना सार्वजनिक भएपछि केही संघसंस्था र स्थानीयवासीले आफ्ना संरचना स्वेच्छाले हटाउन थालेका थिए।

प्रतिक्रिया दिनुहोस्