Skip to content

फिर्केखोलाको सीमाभित्रका संरचना जेठ ९ भित्र हटाउन पोखरा महानगरको अन्तिम चेतावनी

पोखरा ।

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका सबै स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र स्वेच्छाले हटाउन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र संरचना नहटाइए महानगरले आफैं डोजर चलाउने र त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने जनाएको छ।

महानगरका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाटसम्म फैलिएको फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी करिब १६० भन्दा बढी संरचना निर्माण गरिएको पाइएको छ।

यसअघि महानगरले २०८० कात्तिक १० गते नै ३५ दिने सूचना जारी गर्दै ती संरचना हटाउन निर्देशन दिएको थियो। सो निर्णयविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले महानगरको कदमलाई नै वैधानिक ठहर गर्दै अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको थियो।

अदालतको आदेश र गत वैशाख ४ गते जारी गरिएको सूचनालाई आधार मान्दै महानगरले यो अन्तिम सार्वजनिक सूचना जारी गरेको हो। महानगरले संरचना हटाउन तोकिएको समयलाई अन्तिम अवसर भन्दै अटेर गरे कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्