Skip to content

नेपाली महिला क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शन, मलेसियामाथि २ विकेटको रोमाञ्चक जित

काठमाण्डौँ ।

एशियाली महिला छनोटको तयारी अन्तर्गत मलेसियाको बायुमास मैदानमा भएको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु टोली मलेसिया महिला राष्ट्रिय टिमलाई २ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा मात्र ६७ रनमै अलआउट भयो। नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी ब्याटिङ लाइनअपलाई दबाबमा राखे।

नेपालका लागि पूजा महतोले घातक बलिङ गर्दै ४ ओभरमा केवल १३ रन खर्चेर ३ विकेट लिइन्। मनिषा उपाध्यायले ४ ओभरमा १७ रन दिँदै २ विकेट हात पारिन्। त्यस्तै रिया शर्माले २।५ ओभरमा १३ रन खर्चेर २ विकेट लिँदा सीता राना मगर र कविता कुँवरले पनि समान १–१ विकेट लिए।

६८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले केही संघर्ष गरे पनि १७ ओभर ३ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। टोलीकी सम्झना खड्काले ३९ बलमा ३२ रनको महत्वपूर्ण इनिङ खेल्दै जितको आधार तयार पारिन्। रुबी पोदारले २२ बलमा १५ रन जोडेकी थिइन्।

मलेसियाका लागि नोरु क्यूलिसाले ३ विकेट लिए पनि टोलीको कमजोर ब्याटिङ प्रदर्शनका कारण जित सम्भव हुन सकेन। एल्सा हन्टरले सर्वाधिक १० रन बनाए पनि अन्य ब्याटरहरू नेपाली बलिङ अगाडि टिक्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्