काठमाडौं आकृति सुनार ।
सोलुखुम्बुको पाङ्बोचेका ४९ वर्षीय पासाङदावा (पादावा) शेर्पाले ३०औं पटक सगरमाथा आरोहण गर्दै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको कीर्तिमान बनाएका छन्।
काठमाडौंस्थित ट्याग नेपाल एक्सपिडिसन प्रालिमा आबद्ध माउन्टेन गाइड पादावाले सोमबार बिहान विदेशी तथा नेपाली आरोहीहरूको टोलीसँग सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा चुमेका हुन्।
कम्पनीका अनुसार उनी यही सिजनमा पुनः सगरमाथा आरोहण गर्ने तयारीमा छन्। यदि फेरि सफल भए, हाल ३२ पटक सगरमाथा आरोहण गरिसकेका कामीरिता शेर्पाको विश्व कीर्तिमान नजिक पुग्नेछन्।
पादावाले २०५५ सालमा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। गत वर्ष मात्रै उनले एकै सिजनमा दुई पटक सगरमाथा चढ्दै २८औं र २९औं आरोहण पूरा गरेका थिए।
यता कामीरिता शेर्पाले केही दिनअघि ३२औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका थिए। अहिले सगरमाथामा सर्वाधिक आरोहणको प्रतिस्पर्धा दुई नेपाली शेर्पा गाइडबीच रोचक बन्दै गएको छ।
प्रतिक्रिया दिनुहोस्