Skip to content

अध्यादेशले हटाएका केयूका ७ डिन पुनः जिम्मेवारीमा, शिक्षामन्त्रीको निर्देशनपछि फर्काइयो

काठमाडौँ आकृति सुनार

सरकारले ल्याएको नयाँ अध्यादेशमार्फत स्वतः पदमुक्त भएका काठमाडौं विश्वविद्यालय (केयू) का ७ जना डिनलाई पुनः जिम्मेवारीमा फर्काइएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनपछि विश्वविद्यालयको दैनिक कामकारबाही प्रभावित हुन नदिन उनीहरूलाई अस्थायी रूपमा निरन्तरता दिइएको हो।

अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई हटाउने उद्देश्यसहित ल्याइएको अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि केयूका पदाधिकारीहरू स्वतः पदमुक्त भएका थिए।

तर, डिनहरू रिक्त हुँदा विश्वविद्यालयका प्राज्ञिक तथा प्रशासनिक गतिविधि प्रभावित बनेपछि मानविकी, शिक्षा, कानुन, इन्जिनियरिङ, व्यवस्थापन, मेडिकल साइन्स र साइन्स सङ्कायका डिनहरूलाई पुनः जिम्मेवारीमा फर्काइएको केयू स्रोतले जनाएको छ।

यसअघि उपकुलपति डा. अच्युत वाग्ले पदमुक्त भएपछि हाल प्रा. डा. ऋषिकेश वाग्लेले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्। उनले शिक्षामन्त्रीसँगको छलफलमा विश्वविद्यालय सञ्चालनमा समस्या आएको जानकारी गराएपछि तत्काल पुरानै डिनहरूलाई निरन्तरता दिन निर्देशन दिइएको हो।

केयू रजिस्ट्रार कार्यालयले नयाँ व्यवस्था नहुञ्जेलसम्मका लागि मात्र डिनहरूलाई जिम्मेवारी दिइएको स्पष्ट पारेको छ। यस विषयमा थप छलफल आज पनि जारी रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्