Skip to content

दक्षिण बंगालको खाडीमा सक्रिय बन्यो मनसुन, नेपालमा छिट्टै प्रवेश गर्ने संकेत

काठमाडौं आकृति सुनार

दक्षिण बंगालको खाडी क्षेत्रमा मनसुन प्रणाली थप सक्रिय र विस्तारित भएको छ। भारतीय मौसम विभागका अनुसार अण्डमान तथा निकोबार क्षेत्रमा मे १६–१७ मा प्रवेश गरेको मनसुन अहिले क्रमशः उत्तरतर्फ विस्तार भइरहेको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार मनसुन यही गतिमा अघि बढे नेपालमा आगामी दुई साताभित्रै प्रवेश गर्ने सम्भावना रहेको छ। सामान्यतया नेपालमा जुन १३ अर्थात् जेठ मसान्ततिर मनसुन भित्रिने गरे पनि यसपटक सरदरभन्दा चाँडै भित्रिन सक्ने अनुमान गरिएको छ।

गत वर्ष पनि मनसुन निर्धारित समयभन्दा करिब दुई साताअघि नेपाल प्रवेश गरेको थियो। यस वर्ष प्रिमनसुन अवधिमै सरदरभन्दा धेरै वर्षा भइसकेको मौसमविद्हरूले बताएका छन्। हालसम्म देशभर २४९.३० मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन औसतभन्दा १०८.९ प्रतिशत बढी हो।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गोरखा, लमजुङ, कास्की, स्याङ्जा र पर्वतलगायत पश्चिम तथा मध्य पहाडी जिल्लाहरूमा मध्यम वर्षा भइरहेको छ।

विशेष गरी लमजुङको कुञ्चा क्षेत्रमा पछिल्लो २४ घण्टामा १०८.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

यता तराई तथा पश्चिम नेपालमा अत्यधिक गर्मी बढ्दो क्रममा रहेको विभागले जनाएको छ। सोमबार देशका दुई स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो।

मौसम विभागका अनुसार आज दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही र भैरहवामा अत्यधिक गर्मी रहने सम्भावना छ। धनगढी र नेपालगञ्जमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्