काठमाडौं आकृति सुनार ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका सुलभ अग्रवाल हिरासतमा रहँदा आइप्याड प्रयोग गरेको आरोपपछि प्रहरीमाथि नै छानबिन सुरु गरिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका बेला अग्रवालले आइप्याड चलाइरहेको भन्ने उजुरी आएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको हो। डिआइजी ओम अधिकारीको नेतृत्वमा घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।
अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो। विभागको आफ्नै हिरासत व्यवस्था नभएकाले उनलाई केही समय प्रहरी परिसर ललितपुरमा राखिएको स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार हिरासतभित्र इलेक्ट्रोनिक उपकरण प्रयोग गरिएको भन्ने सूचना प्राप्त भएपछि त्यसमा प्रहरीको भूमिका, सुरक्षा कमजोरी र निगरानी प्रणालीबारे विस्तृत छानबिन थालिएको हो।
यसअघि नै सुरु गरिएको अनुसन्धानका क्रममा अग्रवाललाई प्रहरी हिरासतबाट विभागको जिम्मा लगाइसकिएको छ। स्रोतका अनुसार स्वास्थ्य समस्या देखिएपछि उनलाई हाल अस्पतालमा भर्ना गरिएको छ।
घटनाले हिरासत सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै सम्बन्धित निकायमाथि पारदर्शी अनुसन्धान गर्न दबाब बढ्न थालेको छ।
प्रतिक्रिया दिनुहोस्