Skip to content

मन्त्री र प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन हर्क साम्पाङको संसद्मा विरोध

काठमाडौं  आकृति सुनार  ।

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध प्रदर्शन गरेको छ। पार्टीका सांसद हर्क साम्पाङसहितका सांसदहरूले संसद् बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड देखाएर विरोध जनाएका हुन्।

सांसद साम्पाङले प्रतिनिधि सभा नियमावलीको नियम १५(३) अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरू संसद् र जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने माग राखे। उनले प्रदर्शन गरेको प्लेकार्डमा “सदनदेखि भाग्न मिल्दैन” भन्ने नारा लेखिएको थियो।

साम्पाङले विरोध जारी राखिरहँदा सभामुख डीपी अर्यालले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै संसद् सचिवालयसँग आवश्यक छलफल गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि साम्पाङ आफ्नै आसनमा फर्किएका थिए।

यसअघि सोमबारको बैठकमा पनि श्रम संस्कृति पार्टीका सांसदहरूले रोस्टम घेराउ गर्दै विरोध प्रदर्शन गरेका थिए। लगातार संसद्मा विरोधका दृश्य दोहोरिन थालेपछि सभामुख अर्यालले विरोधका कार्यक्रम संसद्को मर्यादा र नियमभित्र रहेर गर्न सम्बन्धित सांसदहरूलाई सचेत गराएका छन्।

विरोधका बीच पनि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्