काठमाडौं आकृति सुनार ।
काठमाडौंस्थित सिभिल अस्पतालमा पछिल्लो समय बिरामी तथा सेवाग्राहीको अत्यधिक भीड बढ्दै गएको छ। ओपिडी (OPD) टिकट लिनका लागि सर्वसाधारण बिहानैदेखि लामो लाइनमा बस्न बाध्य भएका छन्। कतिपय बिरामी त बिहान ४ बजेदेखि नै टोकन लिन अस्पताल पुग्ने गरेका छन्।
विशेष गरी सार्वजनिक बिदापछिका दिनमा अस्पतालको अवस्था झन् अस्तव्यस्त हुने गरेको सेवाग्राहीहरू बताउँछन्। वृद्धवृद्धा, बालबालिका तथा गम्भीर बिरामीहरू समेत घण्टौँ लाइनमा बस्नुपर्दा थप सास्ती भोग्न बाध्य छन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही समयअघि सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भन्दै “अब लाइन होइन, अनलाइन” भन्ने नारा जोडतोडका साथ उठाएको थियो। तर व्यवहारमा भने सरकारी अस्पतालहरूमा अझै पुरानै शैलीको भीड र लाइन देखिन थालेपछि नागरिकहरूले प्रश्न उठाउन थालेका छन् — “नारा भाषणमै सीमित हो त ?”
लाइनमा बसेका एक सेवाग्राहीले आक्रोश पोख्दै भने,
“यो प्रविधिको युगमा एउटा सामान्य टिकट लिन पनि घण्टौँ लाइन बस्नुपर्छ। नेताहरूले डिजिटल नेपालको कुरा गर्छन्, तर जनताले अझै सास्ती मात्रै पाइरहेका छन्।”
अस्पताल प्रशासनका अनुसार अनलाइन टिकट तथा अपोइन्टमेन्ट प्रणाली सञ्चालनमा रहे पनि पर्याप्त जनचेतनाको अभाव, प्राविधिक समस्या र प्रभावकारी व्यवस्थापन नहुँदा अपेक्षित परिणाम आउन सकेको छैन।
स्वास्थ्य क्षेत्रमा डिजिटल सेवा प्रभावकारी रूपमा लागू गर्न नसक्दा राजनीतिक नारा र नागरिकको वास्तविक भोगाइबीच ठूलो दूरी रहेको देखिएको छ। अब सर्वसाधारणले भाषण होइन, व्यवहारमै “अनलाइन सेवा” कार्यान्वयन भएको देख्न चाहिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्