काठमाण्डौं ।
सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पहिलो चरणमा तीन वटा सहकारी संस्थाका ३७८ जना साना बचतकर्तालाई बचत रकम वितरण गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ।
समितिका अनुसार रकम फिर्ता पाउनेमध्ये कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना तथा पशुपति सहकारीका ७ जना बचतकर्ता रहेका छन्।
पहिलो दिन कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी गरिएको समितिले जनाएको छ। आगामी दिनमा भने बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने बताइएको छ।
समितिका तथ्यांक अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्। पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता तथा सोभन्दा बढी रकम बचत गर्नेहरूलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। कुल बचतकर्तामध्ये करिब १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ता अभियानसँगै सहकारीको बक्यौता ऋण असुली प्रक्रिया पनि तीव्र बनाइएको जानकारी दिइन्। उनका अनुसार ऋणीहरूको नाम सार्वजनिक गर्न थालेपछि ऋण फिर्ता गर्ने क्रम बढेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको जनाएको छ। समितिले ऋण असुली र बचत फिर्ता कार्यलाई सँगसँगै अघि बढाइने स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्