Skip to content

इरानमाथि ट्रम्पको दबाब, ‘अहिले निर्णय नगरे केही बाँकी रहने छैन’

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सँगको शान्ति वार्ता ठप्प भइरहेका बेला कडा चेतावनी दिएका छन्। उनले समय तीव्र रूपमा सकिँदै गएको भन्दै तत्काल निर्णय लिन इरानलाई दबाब दिएका हुन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले तुरुन्त कदम चाल्नुपर्ने उल्लेख गर्दै अन्यथा “केही पनि बाँकी नरहने” चेतावनी दिएका छन्। यसअघि पनि उनले युद्ध अन्त्यका लागि सहमति नभए “पूरै सभ्यता समाप्त हुन सक्ने” टिप्पणी गरेका थिए।

अमेरिकाले इरानलाई एउटा मात्र आणविक केन्द्र सञ्चालनमा राख्न र उच्चस्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न दबाब दिँदै आएको छ। तर इरानले ती सर्त अस्वीकार गर्दै आएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले पनि अमेरिकासमक्ष नयाँ प्रस्ताव पेश गरेको छ। तर त्यसबारे वाशिङ्टनले हालसम्म औपचारिक प्रतिक्रिया नदिएको बताइएको छ।मेहर न्युज एजेन्सीले अमेरिकाको मौनताले वार्तालाई अवरोधतर्फ धकेलेको टिप्पणी गरेको छ।

त्यस्तै तस्निम समाचार एजेन्सीका अनुसार इरानले सबै मोर्चामा युद्ध तत्काल अन्त्य गर्नुपर्ने, हिज्बुल्लाहमाथिको आक्रमण रोक्नुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने माग अघि सारेको छ। इरानले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, थप आक्रमण नगर्ने ग्यारेन्टी र होर्मुज जलमार्गमा आफ्नो सार्वभौमिकता स्वीकार गर्नुपर्ने विषयलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।

इरानी अर्ध–सरकारी फार्स समाचार एजेन्सीका अनुसार अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्न तथा समृद्ध युरेनियम अमेरिकालाई बुझाउनुपर्ने सर्त दोहोर्‍याएको छ। गत शुक्रबार ट्रम्पले इरानको आणविक कार्यक्रम २० वर्षसम्म स्थगित गर्न सहमत हुन सकिने संकेत दिएका थिए। यसलाई अमेरिकाको अघिल्लो कडा अडानमा केही लचकता आएको रूपमा हेरिएको छ।

यसैबीच इजरायल र अमेरिकी सेनाले गत फेब्रुअरी २८ देखि इरानमाथि हवाई आक्रमण सुरु गरेका थिए। युद्धविराम प्रयास भइरहे पनि बेला–बेलामा झडप जारी रहेको बताइएको छ। इरानले रणनीतिक महत्वको होर्मुज जलमार्गमा नियन्त्रण कायम राखेकाले विश्वव्यापी तेल आपूर्तिमा असर परेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले तनाव बढ्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यसमेत उकालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्