एजेन्सी ।
प्रजातान्त्रिक गणतन्त्र कंगो मा फैलिएको इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या ८७ पुगेको छ भने ३ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९अफ्रिका सीडीसी० का अनुसार यो संक्रमण ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो।
उक्त प्रजातिका लागि हालसम्म प्रभावकारी खोप उपलब्ध नभएको जनाइएको छ। अफ्रिका सीडीसीका महानिर्देशक जिन कासेया ले पूर्वी कंगोको इटुरी प्रान्तमा संक्रमण तीव्र रूपमा फैलिरहेको जानकारी दिएका छन्। सन् १९७६ पछि कंगोमा इबोला भाइरस देखिएको यो १७औँ प्रकोप हो।
स्वास्थ्य अधिकारीहरूका अनुसार बुन्डिबुग्यो प्रजाति इतिहासमा तेस्रो पटक मात्रै पहिचान गरिएको हो। रोजर काम्बा ले यस प्रजातिबाट मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिएका छन्। उनका अनुसार यस प्रजातिका लक्षण अन्य इबोला भाइरसभन्दा केही फरक देखिएका छन्। प्रारम्भिक चरणमा ज्वरो देखिने र पछि मात्र रक्तश्राव हुने लक्षण देखा पर्ने बताइएको छ।
इबोला अत्यधिक संक्रामक रोग मानिन्छ। यसले उच्च ज्वरो, बान्ता, झाडापखाला तथा गम्भीर अवस्थामा शरीरका भित्री र बाहिरी अंगबाट रक्तश्राव गराउन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाको मृत्युदर यसको प्रजातिअनुसार फरक–फरक हुने गर्दछ।
प्रतिक्रिया दिनुहोस्