काठमाडौं आकृति सुनार ।
नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेसम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा रिटमाथि बहस भइरहेको हो। यसअघि बिहीबार न्यायाधीश अजीज मुसलमानको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशसम्बन्धी छलफलका लागि उपस्थित हुन निर्देशन दिएको थियो।
आजको सुनुवाइपछि अदालतले पाण्डेलाई हिरासतमै राख्ने वा रिहा गर्नेबारे आदेश दिन सक्ने सम्भावना रहेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई गत मंगलबार सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार स्मार्ट सेल टेलिकमको सम्पत्ति लिलामी प्रक्रियासम्बन्धी विषयमा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।
पाण्डेको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी श्रीमती निरु दाहालले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। रिटमा पाण्डेलाई तत्काल रिहा गर्न माग गरिएको छ।
हाल पाण्डे सीआईबीको नियन्त्रणमा रहेका छन् भने अदालतको आदेशलाई यस प्रकरणको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्